मतदान गर्न नेपाल फर्किएका नेपाली कामको खोजीमा भारततिर
काठमाडाैं | मंसिर १७, २०७९
तस्बिर फाइल
काठमाडौंः मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीका लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो ।
दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुर धामीले बताउनुभयो । “चुनाव सकिएपछि अहिले भारततर्फ जानेको सङ्ख्या बढी छ, आउने कम छन्”, उहाँले भन्नुभयो, “दैनिक चार/पाँच सय नेपाली नागरिक भारततर्फ गइरहेका छन् ।”
चुनावमा मतदानका लागि आएका नेपाली नागरिक फेरि कामको लागि भारत जान थालेका हुन् । “मतदानको लागि गाउँबाट फोन गरेर बोलाएका थिए, मतदान पनि गरे, स्वदेशमै रोजगारी केही छैन”, अछामका नागेश्र टमाटाले भन्नुभयो, “जीविकोपार्जन गर्नका लागि भारततर्फ जानुपर्छ ।” पाँच वर्षमा आउने चुनावमा मतदानबाट चुनिएका जनप्रतिनिधिले स्वदेशमै रोजगारी सिर्जना गरेर बिदेसिनुपर्ने बाध्यता हटाउने पर्ने अछामका हर्कबहादुर बोहरा बताउनुहुन्छ ।
“चुनावको लागि बिदा मिलाएर भोट हाल्न आएको थिए, आफ्नो मताधिकारको प्रयोग गरे”, उहाँले भन्नुभयो, “चुनावको उत्सवमा मतदान गर्यौँ तर हाम्रा दुःख कोही देख्दैनन्, नयाँ जनप्रतिनिधिले पनि पुरानै व्यवहार नदेखाउन ।” स्वदेशमै रोजगारी सिर्जना नहुँदा कामको खोजीमा भारत पस्नुपरेको बाजुराका मङ्गल साउदले बताउनुभयो । “स्वदेशमै मजदुरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउनै पाइँदैन”, उहाँले भन्नुभयो, “त्यसैले घर खर्च चलाउन भारत जानुपर्ने बाध्यता छ ।”
संविधान निर्माणपश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको बैतडीका सन्तोष पन्तको भनाइ छ । “संविधान बनेपछि स्वदेशमै रोजगारी पाउने र देश विकास हुने अपेक्षा थियो”, उहाँले भन्नुभयो, “तर जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामको लागि विदेश जानुपर्ने बाध्यता छ ।” सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा क्रमिकरुपमा विकास भइरहेको भए पनि युवाले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ ।
“अहिलेसम्म भोट दिएर हामीले केही पाएका छैनौँ, जहिल्यै पनि ठगिएकै मात्रै छौँ”, बझाङका दुर्गा बोहराले भन्नुभयो, “नयाँ जनप्रतिनिधिले कामका लागि भारत जाने बाध्यता हटाउनुपर्छ, हामीले परदेशमै जीवन कटायौँ, हाम्रा सन्तानले यो समस्या भोग्नु नपरोस् ।” कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

